दफा ३६
सम्पत्ति तथा दायित्वबाट प्राप्त खुद लाभ
(१) कुनै आय वर्षको लागि कुनै व्यक्तिको व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायका नोक्सानी कटाई गर्नु पर्नेछः-

(क) व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट हुन गएको खुद. नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) कुनै आय वर्षमा सो व्यवसाय वा सो व्यक्तिको अन्य कुनै व्यवसायबाट विगतमा हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(२) कुनै आय वर्षको लागि कुनै व्यक्तिको लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त खुद लाभको गणना सो आय वर्षमा: सो लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त सबै लाभको योगबाट देहायको नोक्सानी कटाई गर्नु पर्नेछ:-

(क) सो लगानीको कर लाग्ने गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट सो वर्षमा हुन गएको सबै नोक्सानीको योग,

(ख) सो वर्षमा सो व्यक्तिको अन्य कुनै व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये अन्यत्र कट्टी हुन नसकेको नोक्सानी, र

(ग) बिगतको कुनै आय वर्षमा सो व्यक्तिको सो लगानी, कुनै व्यवसाय वा अन्य कुनै लगानीबाट हुन गएको खुद नोक्सानीमध्ये कट्टी हुन नसकेको नोक्सानी ।

(३) विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानीका सम्बन्धमा कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम कट्टी गर्ने दाबी कुनै विदेशी स्रोतको सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभको हदसम्म मात्र गर्न सक्नेछ ।

(४) कुनै व्यक्तिले उपदफा (१) वा (२) बमोजिम एकभन्दा बढी गणनामा व्यवसाय वा लगानीबाट हुन गएको खुद नोक्सानी उपदफा (१) वा (२) बमोजिम क्ट्री गर्न सक्ने भएमा निजले सो नोक्सानी वा नोक्सानीको अंश क्ट्री गर्ने प्रयोजनको लागि गणनाहरुको छनौट गर्न सक्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि,-

(१) “खुद नोक्सानी” भन्नाले,-

(क) कुनै व्यवसायको सम्बन्धमा कुनै आय वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो व्यवसायको व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ, र

(ख) कुनै लगानीको सम्बन्धमा कुनै आय वर्षमा सो लगानीको कर योग्य गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट हुन गएको नोक्सानी सो वर्षमा सो लगानीको करयोग्य गैरव्यावसायिक सम्पत्तिको निसर्गबाट प्राप्त लाभभन्दा बढी भए जतिको रकम सम्झनु पर्छ ।

(२) “कट्टी हुन नसकेको खुद नोक्सानी” भन्नाले कुनै व्यवसाय वा लगानीको,-

(क) कुनै आय वर्षमा सो व्यवसाय वा लगानीको सो वर्षमा भएको खुद नोक्सानीमध्ये उपदफा (१) को खण्ड (ख) वा (ग) वा उपदफा (२) को खण्ड (ख) वा (ग) बमोजिम कट्टी हुन नपाएको नोक्सानी, र

(ख) दफा २० को उपदफा (१) वा (२) को समय सीमाको कारणले खर्च मिनाहा पाउन नसकिने सो व्यवसाय वा लगानीको सो दफाको उपदफा (७) बमोजिमको कुनै कट्टी हुन नसकेको नोक्सानी सम्झनु पर्छ ।